आँबुखैरेनी गाउँपालिकालाई ऐना पहराबाट ९ महिनामा ४० लाख आम्दानी

केन्द्रभाग मिडिया

पोखरा ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले ऐनापहरा उद्यानबाट नौ महिनामा ४० लाख रुपैयाँ आम्दानी गरेको छ । साउन पहिलो सातादेखि सञ्चालनमा आएको ऐनापहराबाट चैत मसान्तसम्ममा उक्त रकम आम्दानी भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

पृथ्वी राजमार्गको छेउमै रहेको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरामा पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाले दुई करोड भन्दा बढी लगानी गरिसकेको छ । यस पहरामा रहेका ढुंगालाई कलात्मक बनाएर पर्यटकलाई आकर्षित गरिएको छ । झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकर्षक आकृति निर्माण गरिएको छ ।

यहाँ निर्माण गरिएका आकर्षक मूर्ति र आकृतिले पर्यटकको ध्यान आकर्षित गरेको छ । त्यहाँ दैनिक तीन सयदेखि चार सयसम्म आन्तरिक पर्यटक पुग्ने गरेका प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । उनले भने, ‘महिनामा तीन लाखदेखि चार लाखसम्म आम्दानी हुने गरेको छ ।’

बिदाका दिनमा र शैक्षिक भ्रमणमा आउने विद्यार्थीको चाप बढी हुने गरेको छ । उद्यान प्रवेशमा स्थानीयलाई ५०, विद्यार्थीलाई ३० र अन्य पालिका तथा बाह्य पर्यटकका लागि १०० प्रवेश शुल्क कायम गरिएको छ ।

गाउँपालिकाले फोहर व्यवस्थापनसहित चार जना कर्मचारी खटाएको छ । वर्षायाममा झरना हेर्न र हिउँदमा कलात्मक मूर्ति र आकृति हेर्न पर्यटक पुग्ने गरेका छन् ।  गाउँपालिकाले स्थान पहिचान र पूर्वाधार निर्माण गर्ने अनि आर्थिक विकास गर्ने योजना अगाडि सारेको र त्यही अनुरुप लगानी गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।

उनका अनुसार मस्र्याङदी ड्याम्मा मोटरबोट सञ्चालनको योजना अगाडि बढाइएको छ । त्यहाँबाट कम्तिमा वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्ने योजना रहेको उनले जानकारी दिए । त्यसैगरी आँधीमुलमा पनि पर्यटकीय संरचना बनाउने योजना रहेको उनले सुनाए । पालिकाले एक वडा एक पर्यटकीय स्थलको अबधारणालाई अगाडि बढाएको छ ।

  • १३ बैशाख २०८२, शनिबार १२:०५ प्रकाशित