बलियो शक्ति भएकै कारण एमालेमाथि चौतर्फी प्रहार : महासचिव पोखरेल

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको सबैभन्दा बलियो राजनीतिक शक्ति अहिले एमाले भएकाले चौतर्फी प्रहार भइरहेको बताएका छन । प्रेस चौतारी नेपालको दोस्रो पूर्ण बैठक तथा सम्मान कार्यक्रममा वोल्दै पोख्रेलले उक्त कुरा बताएका हुन । ‘अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार छ, बलियो शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले घेराबन्दी गरेको साँचो हो, तर मुलुकको हितमा एमाले समर्पित छ, डगमगाउँदैन’ पोख्रेलले भने ।

विचार निर्माताहरु नै अहिले बाहिरको शक्तिबाट परिचालित रहेको चर्चा गर्दै महासचिव पोखरेलले भने, “स्वतन्त्र विचार राख्ने र देश र जनताको पक्षमा विचार निर्माण गर्नेहरुको उपस्थिति कमजोर देखिएको छ, विदेशी सहयोगमा धेरै अनुसन्धानको काम हुनेगर्छ, हामीले चाहेजस्तो वैचारिक वहस हुन सकेको छैन ।”

राष्ट्रियता, विकास समृद्धि र सामाजिक न्यायको मुद्दामा एमालेजति अब्बल अरु कुनै शक्ति मुलुकमा नरहेको चर्चा गर्दै उनले भने, “राष्ट्रियता, मुलुकको सम्प्रभुता, आर्थिक समृद्धि र सामाजिक न्यायमा कसैसँग सम्झौता गर्दैनौं, त्यो हाम्रो मुद्दा हो ।” गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश दिएपछि हौसिएका राजावादीहरुका कारण चैत १५ गते तीनकुनेमा घटना घटेको भन्दै उनले त्यसको जिम्मेवार पूर्वराजा ज्ञानेन्द्र भएको स्पष्ट पारे ।

अर्को प्रसङ्गमा महासचिव पोखरेलले भने “कतिपयले भनिरहनुभएको छ, सरकारको नेतृत्व गरेको दलले पनि सडकमा प्रदर्शन गर्ने हो र ? तर मुलुकको लोकतन्त्र, राष्ट्रियता खतरामा पर्दा सत्तापक्ष पनि सडकमा आउन आवश्यक हुन्छ ।” एमाले कमजोर हुँदा मुलुक संकटमा पर्ने उनको भनाइ थियो ।

  • १२ बैशाख २०८२, शुक्रबार १५:४८ प्रकाशित