निर्माणमा बेथितिकाे उदाहरण बनेकाे फिर्के पुल निर्माण सम्झौता रद्द

केन्द्रभाग मिडिया

पोखरा ।
भैतिक पूर्वाधार निर्माणमा बेथितिकाे उदाहरण बनेकाे पाेखरा बागलुङ जाेड्ने  जीराे किलाेमिटर-  विन्ध्यवासिनी अन्तर्गत चारलेन सडक जाेड्ने फिर्के खाेला पुल निर्माणकाे ठेक्का ताेडएकाे छ ।

सडक डिभिजन कार्यालय पोखराले पोखरा वडा ४ र ५ जोड्ने फिर्के खोला पुल निर्माणको ठेक्का तोडेको एक सूचना मार्फत जानकारी दिएकाे हाे ।

पुल निर्माणको ठेक्का पाएको श्री शान्ति–आरोग्य जेभी सानेपा ललितपुरले पटक पटक म्याद थप गरेपनि पुल निर्माण गर्न नसकेपछि सम्झौता रद्ध गरिएको हो ।

फिर्के खाेलामाथि निर्माणाधीन पुल ६ वर्षदेखि अलपत्र छ । पछिल्लाे पटक थपिएकाे म्याद पनि गत वर्ष असारमा सकिएकाे थियाे ।

निर्माण जिम्मा पाएको श्री शान्ति–आरोग्य जेभी सानेपा, ललितपुरले समयमै काम सम्पन्न नगरेपछि कार्यालयले सम्झौता तोड्ने निर्णय गरेको हो ।

सम्झौता अनुसार २०७८ सालमा निमार्ण सकिनुपर्ने थियो । तर सम्झौता म्याद सकिएको तीन वर्षसम्म पनि पुल अलपत्र छ ।

२०७५ सालमा पुल निर्माणको ठेक्का शान्ति आरोग्य जेभीलाई दिइएको थियो । ३० महीनाभित्र पुन निर्माण गर्ने गरी शान्ति आरोग्यसँग ठेक्का सम्झौता गरेको थियो । तर तीन पटक म्याद थपिदा पनि पुल बन्न सकेन ।

पहिलो पटक २०७८ असोज २२ मा काम सक्नेगरी २०७८ असार २३ मा म्याद थपिएको, २०७९ भदौ ६ मा दोस्रोपटक म्याद थपेर २०८० असार २७ सम्म पुर्‍याइएको र २०८० असार ३१ मा फेरी तेस्रोपटक म्याद थपेर २०८१ असार २७ सम्मको समय दिइएको कार्यालयले जानकारी दिएको छ ।

  • ११ बैशाख २०८२, बिहीबार १४:२३ प्रकाशित