पोखरा ।
शिक्षकहरुको आन्दोलनका कारण अन्योलमा रहेको कक्षा १२ को परीक्षा नरोकिने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा तोकिएकै मितिबाट सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले परीक्षा नरोक्ने निर्णय भएको जानकारी दिए ।
कक्षा १२ को वार्षिक परीक्षा यही ११ वैशाखदेखि सञ्चालन गर्ने तयारी छ । बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको हो ।
‘जिल्ला जिल्लामा सिडिओले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ,’ शर्माले भने, ‘कक्षा १२ को परीक्षा पूर्वनिर्धारित समयमै हुन्छ। कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ।’
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको परीक्षा नियन्त्रक शर्माले बताए।
११ वैशाखदेखि सञ्चालन हुने परीक्षा २४ वैशाखमा सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ । देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संसय सिर्जना भएको थियो ।















