प्रहरी जवानको लिखितमा सहभागी ६ जना नक्कली परीक्षार्थीहरु पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेपाल प्रहरीको जवान पदको लिखित परीक्षमा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

 

आइतबार विहान काठमाडौं महानगरपालिका वडा नं १०, रत्नराज्य मावि नयाँबानेश्वर परीक्षा केन्द्रमा सञ्चालित प्रहरी जवान पदको लिखित परीक्षामा अन्य व्यक्तिको नाममा परीक्षा दिई रहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंंले जनाएको छ ।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा जिल्ला दोलखा, जिरी ९ घर भई हाल बालाजु बस्ने २३ वर्षीय मोहन सुनुवार, कालिकोट शुभकालिका ७ घर भई हाल काठमाडौंको लैनचौर बस्ने २४ वर्षीय गोपाल शाही, सुर्खेत, बिरेन्द्र ५ घर भई हाल काठमाडौंको माछापोखरी बस्ने २२ वर्षीय मनोज शर्मा, दैलेख, भैरवी ५ घर भई हाल बानेश्वर बस्ने २२ वर्षीय आकाश खड्का, सुर्खेत, बिरेन्द्रनगर ११ घर भई हाल माछापोखरी बस्ने २० वर्षीय उमेश शर्मा र जुम्ला, तिला २ घर भई हाल बालाजु बस्ने २२ वर्षीय मिन रावल रहेका छन् ।

पक्राउ परेका सबैलाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिन को म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

  • ७ बैशाख २०८२, आईतवार १९:५९ प्रकाशित