काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो पार्टीका अध्यक्षसहितका नेतालाई सिंहदरबार परिसर भित्रैबाट गिरफ्तार गरिनुलाई ‘आपत्तिजनक र दुर्भाग्यपूर्ण’ भनेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ्ग र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परेपछि बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक पछि राप्रपाले विज्ञप्ति नै निकालेर यस्तो भनेको हो ।
यसैगरी राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल, उपाध्यक्ष सरोज क्षेत्री, राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनका अध्यक्ष अमर आर्य पनि आज पक्राउ परेका छन् । सरकारको यसप्रकारको रबैया अलोकतान्त्रिक, सर्वसत्तावादी र विपक्षी आवाजलाई निस्तेज पार्ने निरंकुश चरित्र भएको पनि राप्रपाले बताएको छ ।
‘अध्यक्ष र नेताहरु पक्राउको राप्रपा घोर निन्दा र भत्सर्ना गर्दछ । यसको सर्वत्र विरोध गरिनुपर्छ । शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन कार्यक्रमस्थलतर्फ जाँदैगर्दा गिरफ्तार हुनुभएका अध्यक्ष र सबै नेताहरुको अविलम्ब रिहाइको राप्रपा माग गर्दछ,’ राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठ द्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
‘सरकारको रबैयाले स्वतन्त्रतापूर्वक हिडडुल गर्न पाउने, राजनीतिक गतिविधि गर्न पाउने र अभिव्यक्ति स्वतन्त्रताको संविधान प्रदत्त अधिकार कुण्ठित भएको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संविधान प्रदत्त अधिकारको उपभोग गर्ने क्रममा बाधा अवरोध गरिन्छ भने राप्रपाले आगामी दिनमा थप सशक्त ढंगबाट विरोध र प्रतिवाद गर्नेछ । त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयं हुनुपर्नेछ । राप्रपा राजसंस्था र हिन्दु राष्ट्रको पुनस्स्थापना, संघीयताको खारेजी लगायतका राजनीतिक, सामाजिक र जनजीविकाका विविध मुद्धाका पक्षमा अझ दृढ रुपमा अघि बढ्नेछ।
गत १५ चैतमा भएको तीनकुने घटनाको न्यायिक छानविन हुनुपर्ने र बन्दी बनाइएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा।धवल शमशेर राणा लगायत सबै, नेता कार्यकर्ताहरुलाई रिहा गर्न समेत राप्रपाले माग गरेको छ ।














