काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेटबाट नियन्त्रणमा लिएको छ । अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुले प्रहरीलाई झुक्याएर निषेधित क्षेत्र भनिएको सिंहदरबारभित्र प्रदर्शन गरेपछि पक्राउ परेका हुन् । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन, संसदीय दलका उपनेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामाले सिंहदरबारमै प्रदर्शन गरेका थिए ।
तीनकुने घटनाको न्यायिक छानबिन गर्न भन्दै राप्राका कार्यकर्ताहरू माइतीघर-नयाँ बानेश्वर सडकमा प्रदर्शन गरिरहँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरु सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बैठक बस्न भनेर पुगेर प्रदर्शन गरेका हुन् ।














