पोखरा ।
नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश लेखा कमिटी सदस्य बालागिरी कुँवरसहित ७० नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । एक विज्ञप्तीमार्फत उनले ३५ वर्ष लामो पार्टी यात्रा त्याग्दै मातृभूमि जागरण अभियानमा सहभागी हुने घोषणा गरेको घोषणा गरेका छन ।
२०३६ सालदेखि बहुदलीय व्यवस्थाका लागि सुरु भएको आफ्नो राजनीतिक यात्रा २०४६ को परिवर्तन, जनयुद्धको कठिन समय, र डा. भीम रावलको नेतृत्वमा चलेको शान्ति अभियान हुँदै विभिन्न चुनौतीपूर्ण क्षणहरूबाट गुज्रिएको स्मरण पनि उनले गरेका छन ।
दुई पटक (२०५४ र २०७४) वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै जनमुखी विकास निर्माणमा योगदान गरेका कुँवरले समाजवाद र साम्यवादको सपना बोकेर जनताको घरदैलोमा पुगे पनि त्यस्तो नभएको गुनासो गरेका छन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दी, निरङ्कुश कार्यशैली, पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभाव, भ्रष्टाचारमा संलग्न नेताहरूलाई संरक्षण, र जनवादी मूल्यहरूको अवमूल्यनले आफू पार्टी छोड्ने निर्णयमा पुगेको उनीसहितका नेताहरूले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
नेता रावल संयोजक रहेको मातृभूमि जागरण अभियानले भ्रष्टाचारको अन्त, राष्ट्रियता संरक्षण, सुशासन, र समृद्ध नेपालको परिकल्पना साकार पार्ने लक्ष्य राखेको पनि उल्लेख गरिएको छ । उनले इमानदार नेता, कार्यकर्ता, र जनतालाई यो अभियानमा सहभागी भई वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न अपिल गरेका छन्। रावलको अभियानमा एकीकृत समाजवादीबाट पनि ५ जना जोडिएका छन ।

















