किन्शासा (कङ्गो) ।
डेमोक्र्याटिक रिपब्लिक अफ कङ्गोमा इन्धन बोकेको डुङ्गामा आगलागी हुँदा कम्तीमा १४३ जनाले ज्यान गुमाएका छन् भने धेरै जना अझै बेपत्ता रहेका छन् । यो दुःखद दुर्घटना इक्वेटोर प्रान्तको राजधानी म्बान्डाका नजिकै, विश्वकै सबैभन्दा गहिरो र विशाल कङ्गो नदीको सङ्गमस्थलमा भएको हो ।
स्थानीय नागरिक समाजका नेता जोसेफ लोकोन्डोका अनुसार, केही व्यक्तिको आगोमा जलेर ज्यान गएको र केहीको डुबेर भएको पुष्टि भएको छ । उनका अनुसार ज्यान जानेको संख्या १४५ पुगेको अनुमान गरिएको छ ।
डुङ्गामा खाना पकाउने क्रममा लागेको आगो इन्धनमा फैलिँदा ठुलो विस्फोट भई आगलागी भएको बताइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरूमा डुङ्गाबाट आगो सल्किरहेको र धुवाँ निस्किरहेको देखिन्छ । डुङ्गा किनाराबाट टाढा फसेको अवस्थामा देखिएको छ ।
घाइतेहरूलाई उद्दार गरी अस्पतालमा उपचारको लागि पठाइएको जनाइएको छ। धेरै परिवारहरू आफ्ना प्रियजनहरूको अवस्थाबारे अझै अनविज्ञ रहेको पनि लोकोन्डोले बताए । प्रभावित परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दै, स्थानीय अधिकारीहरूले आवश्यक उद्धार तथा राहत कार्य तीव्र रूपमा अगाडि बढाइरहेका छन् ।















