काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्दैछ । सरकारको चेतावनीका बाबजुद राप्रपाले आज निषेधित क्षेत्रमा प्रदर्शन गर्ने बताएको हो ।
गत १५ चैतमा राजावादी समूहले तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा सरकारले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहितलाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनीहरुकै रिहाइसहितका माग राखेर राप्रपाले आज सिंहदरबार आसपास सहितका निषेधित क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।
यता सरकारले भने निषेधित क्षेत्र तोड्ने काम नगर्न राप्रपालाई चेतावनी दिएको छ । गृहमन्त्रालयले शनिबार विज्ञप्ति जारी गरेर हिंसा फैलाउने कुनैपनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुनसमेत सचेत गराएको छ । निषेधित क्षेत्रमा प्रदर्शन गर्नुअघि राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग लञ्चसहितको भेटघाट गरेका छन् ।
राप्रपाको आजको प्रर्दशनमा सिमित नेतामात्र सहभागी हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत आजको प्रदर्शनमा सिमित नेताहरु मात्र सहभागी हुने जानकारी दिएका हुन् ।
उनले सामाजिक सञ्जालमाफृत भनेका छन्, ‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआऊ भनेर सीमा तोक्ने सरकारी निरंकुशतन्त्रको विरुद्धको राप्रपाको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो ।’
अध्यक्ष लिङदेनले वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी भएको दाबी समेत गरेका छन् । उनले आफूहरूले जे गर्नु छ भनेरै गर्ने भएकोले नआत्तिन सरकारलाई सुझाव समेत दिएका छन् ।














