काठमाडौं ।
संविधान र गणतन्त्र रक्षाका लागि एक ठाउँमा उभिन शीर्ष तीन राजनीतिक दल सहमत भएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नोताहरुको बैठकमा नेताहरुले संविधान र गणतन्त्रको रक्षाका लागि एकजुट हुनुपर्ने समान धारणा राखेका हुन् ।
बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बैठकमा समसामयिक राजनीति र देशको विद्यमान परिस्थितिबारे छलफल भएको जानकारी दिए । उनले भने, ‘विद्यमान राजनीतिक व्यवस्था र संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता सहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्नेबारे छलफल भएको छ ।’
त्यस्तै, बैठकमा संविधानको उल्लंघन गर्ने र सामाजिक अराजकता सिर्जना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्याउनेहरूसँग सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दल र गणतन्त्र पक्षधर एक ठाउँमा उभिनुपर्नेमा नेताहरूले समान मत प्रकट गरेको खरेलको भनाई छ ।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी चयन लागि बनेको सिफारिस समितिले गरेको काम र यसको प्रगतिको बारेमा पनि छलफल भएको उनले बताए । ‘समितिको काममा हतार गरेर हुँदैन । अहिलेसम्मको काम सन्तोषजनक छ,’ उनले भने ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए ।














