काठमाडौं ।
निजामती ट्रेड युनियनका प्रतिनिधि राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नै पुगेका छन् । उनीहरु संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमा छलफल हुने भएसँगै ज्ञापनपत्र बोकेरै पुगेका हुन् ।
नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनले समिति कार्यालय घेराउ समेत गरेका छन् ।
कर्मचारी संगठनहरूले समितिका सभापति रामहरि खतिवडालाई भेटेर ११ बुँदे माग समेटिएको ज्ञापन पत्रसमेत बुझाएका छन् । सभापति खतिवडाले निजामती कर्मचारीहरूका अधिकांश मागहरू सम्बोधन भइसकेको र बाँकी केही मागहरू पनि सम्बोधन हुने बताएका छन् ।
‘अधिकांश माग पूरा भइसकेका छन्, केही माग पूरा भएका रहेनछन् भने पनि हामी हेर्छौं,’ उनले कर्मचारीहरूसँग भने। आफूहरूले उठाउँदै माग समेटेर संघीय निजामती सेवा विधेयक ल्याउनुपर्ने माग उनीहरूको छ।














