सुमनाले दिइन् रास्वपाको सहमहामन्त्री पदबाट राजिनामा

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै उनले राजीनामा बुझाएकी हुन् । रास्वपा केन्द्रीय समितिको बिहीबारको बैठकमा सहमहामन्त्रीबाट श्रेष्ठले दिएको राजीनामाबारे छलफल हुने बताइएको छ ।

रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सहमहामन्त्री श्रेष्ठले राजीनामा दिएको जानकारी दिए । संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने भनेर श्रेष्ठले राजीनामा दिएकी तर स्वीकार भने भइननसकेको पार्टीले जनाएको छ ।

पछिल्लोपटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए । सोही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएकी थिइन् ।

श्रेष्ठले सभापति लामिछानेलाई १५ दिनअघि नै राजीनामा बुझाएकी थिइन् । तर, लामिछाने सहकारी ठगीमा उच्च अदालतको आदेशबाट पक्राउ परेपछि श्रेष्ठको राजीनामाबारे थप कारबाही भएको थिएन ।

  • ४ बैशाख २०८२, बिहीबार १२:५७ प्रकाशित