पोखरा ।
पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखामा तालाबन्दी गरिएको तालाबन्दी खुलेको छ । करार सेवाबाट बर्खास्त गरिएका स्वास्थ्यतर्फका ५८ जना कर्मचारीले मंगलबार दिउँसो महाशाखाको च्यानल गेटमा गरेको तालबन्दी आन्दोलनरत पक्षसंग बसेर खुलाइएको महानरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यले जानकारी दिए । करारबाट हटाइएका स्वास्थ्यतर्फका कर्मचारी २६ माघ देखि आन्दोलित छन् ।
प्रत्येक दिनजस्तो महानगरपालिका कार्यालय परिसरमा धर्ना दिँदै आएका उनीहरुले आज स्वास्थय महाशाखामा तालबन्दी गरेका थिए । बिहीबार बिहान ८ बजे सुशासन आयोगको कमिटी, महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसंग वार्ता गर्ने सहमतिमा ताला खोलिएको वार्तामा सहभागी संघर्ष समिति सदस्य शान्ति पाडेलले जानकारी दिइन् ।
मंगलबार महानगरको तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत आचार्य र स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल सहभागी थिए भने, संघर्ष समितिका संयोजक अनिता गिरी र सदस्यहरु समुन्द्र केसी, निरा केसी, कमला गौतम, शान्ति पौडेल र सरोज लामिछाने वार्तामा सहभागी थिए ।
करारमा सेवामा रहेका ५८ जना कर्मचारीलाई पोखरा महानगरपालिकाको नगरसभाले पुसदेखि हटाउने निर्णय गरेको थियो । महानगरको निर्णय विरुद्ध उनीहरु १ माघमा सर्वोच्च अदालत पुगेका थिए । अदालतले तत्काल कर्मचारी नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । तर, पनि पोखरा महानगरपालिकाले हाजिर हुन नदिएको भन्दै करारमा काम गर्दै आएका कर्मचारी निरन्तर धर्ना दिँदै आएका छन् ।














