काठमाडौं ।
सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नरहेको बताएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार परिवर्तन हुने संकेत गरिरहेका बेला एमालेले सरकार परिवर्तनका हल्लामा सत्यता नभएको बताएको हो ।
सोमबार एमाले सचिवालय बैठक पछि सञ्चारकर्मीसंग कूरागर्दै एमाले उपमहासचिव प्रदिप ज्ञवालीले अहिले सरकार परिवर्तन कतैबाट सम्भव नै नभएको दाबी गरे । ‘अहिले सरकार परिवर्तन न कतैबाट सम्भव छ, न त्यसको सान्दर्भिकता छ र औचित्य छ’, उनले भने । अरु विषय छाडेर प्रचण्डले सरकारको कुरामात्रै गर्नुभनेको सत्तामोह बाहेक अरु केही नभएको ज्ञवालीले बताए ।
सात श्रष्ठालाई सम्मान गर्ने
नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मानित गर्ने भएको छ । एमालेको सोमबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
एमालेले लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौंै), सत्य नारायण मण्डल (सप्तरी) र हरिचरण सिवाकोटी (झापा) लाई सम्मानित गर्ने भएको हो ।