काठमाडौं ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थभन्दा माथि उठेर एकताबद्ध हुनुपर्ने बताएका छन । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै देउवाले भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको सामू एकजुट भई सामना गर्ने दृढ सङ्कल्प हुनुपर्ने बताएका हुन ।
‘नेपाली जनताको लामो त्याग, संघर्ष, आन्दोलन र बलिदानबाट प्राप्त ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्दै भविष्यमा आउने राष्ट्रिय चुनौतीहरूको एकजुट भई सामना गर्ने दृढ सङ्कल्प र अठोटका साथ नवीन अवसरहरूको उपयोग गरेर मुलुकमा सुशासन कायम गर्दै आर्थिक विकास र समृद्धिको मार्गमा अग्रसर हुनु पर्ने बेला आएको छ ।’ उनले भनेका छन्,‘यसका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरू मुलुक, मुलुकबासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सीमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक छ ।’
आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साहका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ। सन्देशमा भनिएको छ, ‘नयाँ वर्ष २०८२ ले हामी नेपाली बीचको एकतालाई अझ बढी मजबुत र सुदृढ गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरेर आर्थिक, सामाजिक र सांस्कृतिक रुपले समृद्ध नेपाल निर्माण गर्न नयाँ जोश, उत्साह र जाँगर प्रदान गर्न सकोस् भन्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’