रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै

केन्द्रभाग मिडिया

म्याग्दीे ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा रहेको रुप्से झरनामा पर्यटकीय पूर्वाधार निर्माण योजना सञ्चालन गरिएको छ । कालिगण्डकी कोरिडोरमा पर्ने प्रसिद्ध रुप्से झरनालाई पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्देश्यले साढे तीन करोड रुपियाँभन्दा बढी लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको हो ।

सङ्घीय सरकारबाट प्राप्त भएको विशेष अनुदान गाउँपालिकाले पूर्वाधार निर्माण थालेको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दीवाकुमारी तिलिजाले बताइन । मुस्ताङ भ्रमणका लागि जाने पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले झरनामा तीन करोड ६५ लाख रुपियाँ बराबरको लागतमा पर्यटकीय संरचनाहरु निर्माण थालिएको उनले बताइन ।

सङ्घीय सरकारबाट प्राप्त भएको बजेटलाई गाउँपालिकाले गत वर्ष बहुवर्षीय ठेक्का लगाएको थियो । गाउँपालिकाले २०८२ पुस २५ गते भित्र निर्माण सम्पन्न गर्नेगरी गत वर्षको जेठ ३० गते सुन्दर निर्माण सेवा कास्कीसँग तीन करोड २३ लाख ५५ हजार ३६९ रुपियाँमा ठेक्का सम्झौता गरी संरचना निर्माण सुरु गरिएको गाउँपालिकाका सब इन्जिनियर बालकृष्ण पौडेलले बताए ।

उनका अनुसार झरनामा टिकट काउन्टर, शौचालय, झरनामा फलामको रेलिङ, भ¥याङ, पदमार्ग र खाजाघर लगायतका पूर्वाधार निर्माण थालिएको छ । रुप्से झरनादेखि माथि रहेको बाजा बजाउने ढुङ्गामा पार्क, गोलघर र भ्यूप्वाइन्ट समेत निर्माण गरिने योजना रहेको उनले बताए ।

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकमा पर्ने रुप्से झरना मुस्ताङ भ्रमणमा आउने पर्यटकको आकर्षणको केन्द्र बनेको छ । चार वर्षअघि रुप्से झरनामा आएको भिषण बाढी र पहिरोले यहाँ बनेका पूर्वाधार बगाएको थियो । पूर्वाधार बगाएपछि पुनः पर्यटन पूर्वाधार निर्माण गरी पर्यटकीय स्थलका रुपमा विकास गर्न गाउँपालिका जुटेको हो ।

  • १ बैशाख २०८२, सोमबार ११:५६ प्रकाशित