काठमाडौं ।
आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूले नयाँ वर्ष सडकमै मनाउने भएका छन्। यथाशीघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलन गर्दै आएका उनीहरूले आज पनि निरन्तरता दिने भएका हुन् ।
नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले यसपालिका नयाँ वर्ष सडकमा नै मनाउन लागेको बताए । नयाँ वर्षको आरम्भको यो दिन पनि आम नेपाली विद्यार्थी , शिक्षक–कर्मचारी र विद्यालय शिक्षाको उन्नयनको पक्षमा आन्दोलनको मोर्चामा खर्च गर्न लागेको बताए ।
अझै केही दिन माइतीघर–बानेश्वर खण्डको सडकमा व्यतीत हुने अवस्था रहेको उनको भनाइ छ । माग पूरा नहुँदासम्म थाक्ने वा गल्ने सुविधा नरहेको बताउँदै केवल जितको लागि लडिरहेको बताए ।
जति विलम्ब हुँदै गयो त्यति नै ऊर्जा र नतिजाप्रतिको प्रतिबद्धता उति बढ्दै गएको उनको भनाइ छ। राज्यले आफूहरूका न्यायिक कुरा स्वीकार गर्नुको विकल्प नरहेको बताए । आन्दोलनमा बाहिरबाट अरू शिक्षक–कर्मचारीलाई पनि बोलाउन अनुरोध गरे ।