सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त : राष्ट्रपति

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्धिको बाटोमा बाधक बनेर देखिने बेथितिको अन्त्य, सुशासन प्रवद्र्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त भएको बताएका छन ।
नव वर्ष २०८२ को सुखद् अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन जनताको यही चाहना पूरा गर्ने सङ्कल्प गर्न आग्रह समेत गरेका छन ।

पौडेलले आजनको दिन राष्ट्रको उन्नति र समृद्धिका लागि उत्साहका साथ जुट्न र एउटा साभाm संकल्प लिएर अघि वढ्न समेत सबैलाई अपिल समेत गरेका छन ।
शुभकामना सन्देशमा विक्रम संवत् प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य संवत् रहेको उल्लेख गर्दै पौडेलले इतिहास र सामाजिक जीवनमा लामो समयदेखि स्थापित यो संवत्ले हाम्रो सभ्यता, सामाजिक जीवन र परम्पराहरूको प्रतिनिधित्व गर्दै नेपालको गौरवमय विगतलाई सम्झाउने र उन्नत भविष्यतिर अगाडि बढ्न प्रेरित गर्ने उल्लेख गरेका छन ।

“हामी नेपालीहरू नयाँ वर्षलाई विगतको समीक्षा गर्ने तथा आगामी दिनका लागि प्रतिज्ञा र संकल्प गर्ने शुभसाइतका रुपमा लिन्छौँ”, पौडेलले शुभकामना सन्देशमा भनेका छन, “विशेष पर्व र दिनहरूमा जीवनका लक्ष्यहरू निर्धारण गर्ने र त्यसलाई पूरा गर्न जीवनभर संकल्पवद्ध रहने हाम्रो परम्परा छ । यस अर्थमा, नयाँ वर्ष हाम्रा लागि देशको साझा राष्ट्रिय लक्ष्य बनाउने र त्यसलाई प्राप्त गर्न संकल्प गर्ने दिन हो ।”

राष्ट्रपति पौडेलले ठूलो राजनीतिक परिवर्तनपछि जनताले राखेको तीव्र आकांक्षाको परिपूर्तिमा हुन गएको केही ढिलाइ र केही कमी, कमजोरीलाई देखाएर भ्रमपूर्ण स्थिति सृजना गर्न खोजिएका प्रयत्नहरू एक एक गरी विस्तारै निस्तेज हुँदै जाने विश्वास समेत ब्यक्त गरेका छन ।

विश्व प्रविधिमैत्री भइसकेको अवस्थामा प्रविधिमैत्री अभ्यासलाई अझ बृहत बनाई सुदृढ गर्दै लैजानु पर्नेमा पौडेलले जोड दिएका छन । कृषि, पर्यटन, जलस्रोत, ऊर्जा, सूचना प्रविधि र उद्योगधन्दा मुलुकको अर्थतन्त्रको मूल मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आर्थिक वृद्धिका यी क्षेत्रमा विद्यमान समस्या हटाएर उपयुक्त नीति, कानुन र अवसरको सिर्जना गर्दै कृषि, पर्यटन र जलस्रोतको विकासद्वारा समृद्ध राष्ट्र निर्माण गर्ने संकल्प गर्न आग्रह समेत गरेका छन ।

शुभकामना सन्देशमा भनिएको छ । “आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण नागरिकलाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बन्न प्रेरित गर्नेछ भन्ने विश्वास लिएको छु” ।

  • १ बैशाख २०८२, सोमबार ०८:३४ प्रकाशित