वीरगन्जमा कफ्र्यू हटाएर अनिश्चितकालीन निषेधाज्ञा जारी

केन्द्रभाग मिडिया

वीरगन्ज ।

वीरगन्जमा स्थानीय प्रशासनले गत शनिबार बेलुकीदेखि लगाएको कफ्र्यू हटाएको छ । वीरगन्जमा हनुमान जन्मोत्सवका अवसरमा निकालिएको शोभा यात्राका क्रममा छपकैयामा दुई फरक धर्मका समुदायबीच विवाद भई झडप भएपछि स्थानीय प्रशासनले शनिबार बेलुकीदेखि आइतबार राति १२ बजेसम्मका लागि कफ्र्यू लगाएको थियो ।

तर आइतबार साँझ जिल्ला प्रशासन कार्यालय पर्सामा सम्पन्न सर्वपक्षीय बैठकमा पाँच बुँदे सहमति भएपछि कफ्र्यू आदेशलाई निरन्तरता दिइरहनुपर्ने अवस्था नदेखिएकाले आइतबार राति १२ बजेपछि कफ्र्यू हटाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका हुन ।

आइतबार राति प्रजिअ अर्यालले जारी गरेको सूचनामा कफ्र्यू आदेश हटाइएको भएपनि वीरगन्जको परिस्थिति पूर्ण रुपमा सामान्य भई नसकेको अवस्थालाई मध्यनजर गरेर वीरगन्ज महानगरपालिकाको शहरी क्षेत्रमा सोमबार बैशाख १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको उल्लेख छ ।

पूर्वमा बाइपास रोड,पश्चिममा सिर्सिया पुल,उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटको चार किल्ला तोकेर वीरगन्जमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। कुनै किसिमको भेला गर्न, सभा जुलुश तथा प्रदर्शन गर्न नपाउने गरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३क) बमोजिम अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको प्रजिअ अर्यालद्वारा जारी सूचनामा उल्लेख छ।

उक्त निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ ।

  • १ बैशाख २०८२, सोमबार ०८:२४ प्रकाशित