आलु महोत्सवमा साढे २ करोडभन्दा बढीको कारोवार

केन्द्रभाग मिडिया

 

पोखरा ।
पोखराको हेमजामा जारी १३ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँका स्टलबाट आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ८ औं दिन आइतबारसम्म करिव ७० हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा कुल २ हजार ४ सयभन्दा बढी घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए ।जसमध्ये प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा २ सय केजीसम्म आलु किनी लगेको तिम्सिनाको भनाई छ ।

त्यस्तै अन्य व्यापारिक स्टलहरुबाट समेत सामाग्री खरिद गर्नेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ । विशेष गरी घरयासी सामग्री किन्नेको संख्या बढी छ । त्यहाँ कृषितर्फ ३० तथा १२० वटा व्यापारिक स्टल छन् । आइतबार साँझसम्म आफ्नो स्टलबाट कुल १२ वटा दुई पाङग्रे सवारी किन्नेका लागि उपभोक्ताले नाम दर्ता गराएको महोत्सव स्थलमा स्टल संचालन गरीरहेकी टिभीएस् सोरुम हेमजाकी प्रोप्राइटर मनिषा शर्माले बताइन् ।

सबै स्टलबाट व्यापार राम्रै भइराखेको छ, हामीहरु उहाँहरुको निरन्तर सम्पर्कमा पनि छौं, आज आइतबार साँझसम्म गरी २ करोड ५० लाख बढीको कारोवार भएको अनुमान छ, पक्कै पनि यो हामी सबैका लागि खुशीको कुरा हो, आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले भने । त्यहाँ आलु खरिद गर्नकै लागि पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । आइतबार साँझसम्म २६ लाख बढीको आलु कारोवार भएको छ । त्यहाँ प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।

हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्ने गरेको छ ।महोत्सव बाहेक हेमजाका अन्य ठाउँहरुबाट समेत यतिवेला आलुको कारोवार भइरहेको छ । महोत्सवमा आइतबार कलाकारहरु वसन्त थापा, कृष्ण अखेली, कृष्ण गुरुङ, प्रेमराज अधिकारी, नेत्र खड्का, शिव पौडेल, लक्ष्मी बानियाँ, राजेश वर्देवा, रोशन ¥यापर र अनिल शाहीका प्रस्तुतिहरु रहे भने सोमबार नयाँवर्षको अवसरमा कलाकारहरु बद्री पंगेनी, चोलेन्द्र पौडेल, कृष्ण अखेली, सीता परियार, सन्ध्या विसी, अनिल चापागाइँ, संजीव सिंह राना तथा आवाज व्याण्डका प्रस्तुतिहरु रहने संस्कृतिक उपसमिति संयोजक सुर्य कुँवरले जानकारी दिए ।

यही २४ चैतबाट सुरु महोत्सव ३ बैशाखसम्म चल्नेछ । समापनको दिन रक्तदान कार्यक्रम समेत आयोजना गरिएको छ ।

  • ३१ चैत्र २०८१, आईतवार २१:०२ प्रकाशित