तनहुँ ।
तनहुँमा सात वर्षको अवधिमा चितुवाको आक्रमणबाट १५ जनाले ज्यान गुमाएका छन । पछिल्लो घटना गत शुक्रबार सांझ बन्दीपुर गाउँपालिका २ कामीडाँडामा चितुवाको आक्रमणबाट स्थानिय अनुजा बिकको ज्यान गुमाएपछि यहाँका स्थानियहरु त्रसित भएका छन ।
जङ्गलमा बस्ने चितुवा मानव बस्तीमा आएर मान्छेलाई आक्रमण गर्न थालेपछि यहाँका बासिन्दा आतङ्कित भएका हुन् । २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट ज्यान गएको र सात वर्षको अवधिमा चितुवाको आक्रमणबाट १५ जनाले ज्यान गुमाएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ ।
दिउँसै मानव बस्तीमा आएर आक्रमण गर्न थालेकाले स्थानीय आतङ्कित बनेको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए । नरभक्षी चितुवाबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको उनले बताए ।
बालबालिकालाई घरमा एक्लै नछोड्न र साँझ घरबाट बाहिर ननिस्कन आग्रह गरिएको हो । गत वर्ष बन्दीपुर गाउँपालिका–५ मा एक बालकको ज्यान गएको र शुक्रबार वडा नम्बर २ मा बालिकाको चितुवाले ज्यान लिएपछि पुनः चितुवा आतङ्क बढेर स्थानीय आङ्कित बनाएको थापाले बताए ।
बालबालिकालाई विद्यालय आउँदा जाँदा पनि आक्रमण पर्ने त्रास छ, चितुवा आतङ्कले दिउँसै ढोका बन्द गरेर बस्नु पर्ने बाध्यता भएकोले नियन्त्रणमा लिन सुरक्षा निकायलाई आग्रह गरिएको थापाले जानकारी दिए ।डिभिजन बन कार्यालय तनहुँका अनुसार चितुवा आहार जङ्लमा नपाएर मानव बस्तीमा आएको र मानिसलाई आक्रमण गरेको हो । डिभिजन वन कार्यालयले सूचना जारी गर्दै बालबालिकालाई एक्लै नछाड्न, घर नजिक रहेको झाडी सफा गर्न र अध्यारोमा नहिँड्न अनुरोध गरेको छ । आहाराको खोजीमा चितुवा मानव बस्तीमा पस्ने गरेकोले वन्यजन्तुको शिकार नर्गन डिभिजन वन कार्यालयले अनुरोध गरेको छ ।
चितुवा पानीको खोजीमा समेत मानव बस्तीमा आउने हुँदा वन जङ्गलमा भएका पानीका मुहान संरक्षण गर्दै पोखरी निर्माण गर्न कार्यालयले आग्रह गरेको छ । मृग, बँदेल, वनकुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकार अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको कार्यालयका सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गरिएको छ ।













