वीरगन्ज ।
वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवादलाई समाधान गर्नका लागि डाकिएको सर्वदलीय बैठकले ३ बुँदे प्रतिबद्धता जनाएको छ । हनुमान जयन्तीको अवसरमा हिजो निकालिएको शोभा यात्राका क्रममा भएको विवादलाई समाधान गर्नका लागि आइतबार बिहान सर्वदलीय बैठक डाकिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सो बैठकमा दलका प्रतिनिधिहरूले सबै धर्म एवम् सम्प्रदाय सम्बद्ध सङ्घ संस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सदभावलाई संरक्षण एवम् प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने राष्ट्रको मर्म रहेअनुसार शान्ति, अमनचयनमा खलल हुने किसिमका धार्मिक एवम् सामुदायिक प्रकारका ¥याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घ संस्था एवम् समुदायले नगर्ने प्रतिबद्धतासहित सद्भाव कायम गर्न सबैमा अपिल गरेका छन् ।
उनीहरूले झडपका क्रममा घाइते भएकाहरूको स्वास्थ्य लाभको कामना गर्दै उपचार राज्यको तर्फबाट गर्नुपर्ने माग समेत गरेका छन् । हनुमान जयन्ती मनाउन निकालिएको शोभा यात्राको क्रममा विवाद उत्पन्न गर्ने कार्यमा संलग्न जो सुकै भए पनि निजहरूलाई कानुनको दायरमा ल्याई कडा कारबाही गर्न समेत उनीहरूले माग गरेका छन् ।














