पोखरा ।
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान गुम्नेगरी भएको हिंसात्मक प्रदर्शनको योजनाकार पूर्वराजा ज्ञानेन्द्र शाह रहेकाले उनलाई कारबाही हुने बताएका छन् । पोखरामा शनिबार आयोजित जागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले तिनकुने घटनालाई लिएर प्रक्रियाअनुसार पूर्वराजा शाहमाथि छानबिन हुने दाबी गरे । ‘त्यो कार्यक्रम हत्या, हिंसा, तोडफोड, आगजानी गर्ने उद्देश्यका साथ आयोजना गरिएको थियो । त्यो सम्पूर्ण कामको जवाफदेही, त्यसको योजनाकार, मास्टरमाइन्ड पूर्वराजा ज्ञानेन्द्र थिए जसलाई अब यथोचित प्रक्रियाबाट छानबिन हुन्छ भन्ने कुरा म जानकारी गराउन चाहन्छु,’ उनले भने ।
अराजकताबादलाई सघाउने र मलजल गर्ने काम गर्नु उचित नहुने पोखरेलको भनाइ छ । देशलाई द्वन्द्व, हिंसामा लैजाने कुरा सरकारले राम्रोस“ग बुझेकाले छानबिन गरेर सजाय दिने पोखरेलले बताए । ‘एउटा नागरिकले जसरी गलत काम गरेबापत दण्डको भागिदार हुनुपर्छ, त्यस्तै किसिमले दण्डको भागिदार (पूर्वराजालाई) बनाउने छौं,’ उनले भने ।
उनले लोकतन्त्रको विकल्प वंश परम्परा र अनिर्वाचित सत्ता हुन नसक्ने बताए । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हुने उनको भनाई थियोे । राजाको शासनकाल र राजतन्त्र ढलेपछि विकास र जनताको जीवनस्तरमा सुधार भएको पोखरेलले दाबी दाबी गरे । ‘हिजो बाटो, स्कुल र अस्पतालको अवस्था के हो ? हिजो २५१ डलर प्रतिव्यक्ति भएकोमा अहिले १४ सय डलर पुगेको कसरी बिर्सन सक्छौं,’ उनले भने, ‘हिजो र आजको तुलना गर्दा यी सबै कुरा हेर्न आवश्यक छ ।’
उनले आगामी निर्वाचनमा एक्लै लड्ने गरी मानसिकता बनाउन कार्यकर्तालाई निर्देशन दिए । नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालतर्फ इंगित गर्दै उनले ‘म्याजिक नम्बर’मार्फत अस्थिरता पैदा भएकाले त्यसको अन्त्य गर्न तत्काललाई कांग्रेससँग मिल्नुपरेको जिकिर गरे ।
एमाले कास्कीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध भन्दै शनिबार पोखरामा जागरण सभा गरेको हो । सभाअघि पोखराका ३ ठाउँबाट ¥याली निकालिएका थिए । सभामा एमाले स्थायी कमिटी सदस्य किरण गुरुङ, स्थायी कमिटी सदस्य एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, स्थायी कमिटी सदस्य थममाया थापालगायतले बोलेका थिए ।













