पोखरा ।
नेकपा एमालेले आज पोखरामा जागर सभा गर्दै छ । जिल्ला कमिटी कास्कीको आयोजनामा आज लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा बृहत् जागरण सभा गर्न लागेको हो ।
सभाअघि ३ ठाउँबाट बृहत् र्याली निकालिने एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । उनका अनुसार सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्याली निकालिने र उक्त र्याली चिप्लेढुंगा पुगेर सभामा मिसिने उनले बताए ।
जागरण सभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ । र्यालीपछिको सभालाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् । र्यालीमा १८ हजार जनाको सहभागिता रहने गरी तयारी सकिएको उपाध्यक्ष बरालले बताए ।
जागरण सभाले गर्दा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म महेन्द्रपुल, चिप्लेढुंगा क्षेत्रमा सवारी आवागमनमा अवरोध हुनसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न एमाले कास्की सचिव दर्शन लामाले आग्रह गरे । कार्यालय, विद्यालय बन्द रहने दिन भएकाले जागरण सभाले कार्यालय र पठनपाठनमा अवरोध नगर्ने उनको भनाइ छ ।













