राजावादीहरुको प्रदर्शन देशलाई अस्थिर बनाउने षड्यन्त्र : प्रदीप ज्ञवाली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले वर्तमान सरकार बनेपछि देशलाई अस्थिरताको बाटोमा लैजाने षड्यन्त्र भइरहेको बताएका छन् । राजावादीहरुको हिंसात्मक प्रदर्शन त्यसैको उदाहरण भएको उनले बताए ।

जनसंगठन समन्वय संयन्त्रको शुक्रबार सम्पन्न बैठकलाई सम्बोधन गर्दै ज्ञवालीले राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक घटनाको उदाहरण दिँदै उनले उमुलुकलाई अस्थिरतामा लैजान जति प्रयास भए पनि त्यो सफल हुन नसक्ने बताए । अस्थिरताले देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने भन्दै उनले स्थिरता र सुशासन दिनकै लागि दुई ठूला दल एमाले र कांग्रेसको संयुक्त सरकार बनेको बताए ।

बैठकमा पार्टीको जनसंगठन संयन्त्रका प्रमुख एवम् एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले राजनीतिमा युवालाई जोड्नु आजको आवश्यकता भएको बताउनुभयो । त्यसैलाई दृष्टिगत गरी नेकपा एमालेले युवा केन्द्रित अभियान सुरु गरेको उनले जानकारी दिए ।

पार्टीले यस वर्षको स्थापना दिवसको अवसरमा ‘युवा उत्सव’ गर्न लागेको बताउँदै उनले वैशाख ९ गतेको पार्टी स्थापना दिवस र ११ गतेको युवा उत्सवलाई ऐतिहासिक बनाउन सबै जनसंगठनलाई आग्रह गरे ।

  • २९ चैत्र २०८१, शुक्रबार १२:२२ प्रकाशित