राष्ट्रिय हेमजा आलु महोत्सवमा रमाउँदै आलु किन्नेको भीड

केन्द्रभाग मिडिया

पोखरा ।
पोखराको हेमजामा जारी १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा विभिन्न कलाकारहरुका प्रस्तुतीमा रमाउँने र आलु किन्नेहरुको सख्या दिनप्रतिदिन बढिरहेको छ । बिहीबारसम्म करिव ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेकोमा एक हजार दूई सय २५ घरपरिवारले आलु किनी लगेको आलु तथा कृषि उपज व्यवस्थापन उपसमिति संयोजक जयराम तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्रति घरपरिवारले सबैभन्दा कम १० देखि बढीमा दुई सय केजीसम्म आलु किन्ने गरेका छन् ।

हेमजाको आलु बढी स्वास्थ्यकर मानिने, छिटो पाक्ने तथा खानमा पनि स्वादिलो र मिठो हुने भएकाले अधिकाशं उपभोक्ताको रोजाईमा पर्दै आएको बिहीबार महोत्सव स्थलमा आलु खरिद गर्दै गरेकी स्याङजा आधिखोलाकी पार्वती शर्माको भनाई छ । आलु खरिद गर्नकै लागि त्यहाँ पोखरा लगायत छिमेकी अन्नपूर्ण एवम् माछापुच्छे« गाउँपालिका, स्याङजा, चितवन, तनहुँ, पर्वत, मुस्ताङ, बाग्लुङ, सुनसरी, रुपन्देही लगायतका जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेका छन् । आयोजकलाई त्यहाँ आलु बिक्री गर्न भ्याइनभ्याई भइरहेको छ भने बिहीबार साँझसम्म १३ लाख बढीको आलु कारोवार भएको छ । प्रतिकेजी रु.४२ मा आलु बिक्री गरिएको छ ।

महोत्सवको पाँचौ दिन बिहीबार मात्रै १० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । दर्शक सहभागिता बढ्दै जाँदा आयोजक समेत हैसिएको छ । महोत्सव अन्तर्गत बिहीबार कलाकारहरु एलिना चौहान, जीवन दाहाल, रेशम निर्दोष, सरस्वती लामिछाने, परशुराम अधिकारी, सुभद्रा श्रेष्ठका प्रस्तुतिहरु रहे ।

शुक्रबार शान्तारानी परियार, कुमार पुन, जीवन दाहाल, लक्ष्मी नेपाली, विजय केसी, कृष्ण सुवेदी, गगन गुरुङ, वसन्ती थापा लगायत कलाकारहरुका प्रस्तुति रहनेछन् । त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन् ।

महोत्सवमा कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी भइरहेका छन् । महोत्सव यही ३ बैशाखसम्म चल्नेछ ।

 

 

  • २८ चैत्र २०८१, बिहीबार २०:३४ प्रकाशित