विद्यालय शिक्षा विधेयक : ३८ दफासम्म उपसमितिले जुटायो सहमति

केन्द्रभाग मिडिया

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा ३८ वटा दफामा दफावार छलफल सकिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा शिक्षा विधेयकमाथि दफावार छलफल चलिरहेको छ ।
उपसमिति सदस्य सरिता भुसालका अनुसार बुधबारसम्म ३८ दफामा सहमति जुटिसकेको छ । आज ३९ दफाबाट दफावार छलफल सुरु हुनेछ ।

‘३९ दफामा पुगेका छौं । उपसमितिले काम सकाएर फुल समितिमा लैजान्छौं’, उनले भनिन्, ‘परिच्छेद ४ सम्म सकियो ।’ उपसमितिलाई ३५ दिनको समय दिइएको छ । आज उपसमितिको बैठक सवा १२ बजेको लागि बोलाइएको छ ।

शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलन चर्काएपछि उपसमितिले दफावार छलफल तीव्र रुपमा अगाडि बढाएको हो । उपसमितिले जुटाएको सहमति भने सार्वजनिक गरिएको छैन । यद्यपि, ईसीडी दुई वर्षको बनाउने, जिल्ला शिक्षा कार्यालय नरहने, शिक्षा विभाग नरहने लगायतको सहमति जुटेको छ । सहमति हुन नसकेका कतिपय विषय शीर्ष राजनीतिक नेतृत्वसँग पनि छलफल गरेर टुंगो लगाउने तयारी छ ।

  • २८ चैत्र २०८१, बिहीबार ११:५६ प्रकाशित