काठमाडौं ।
राजधानीमा आन्दोलनरत शिक्षक महासंघले वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भएका छ । बुधबार शिक्षा सचिवले महासंघलाई शिक्षा विधेयकमा छलफल गर्न पत्र पठाएपछि आज महासंघको टोलीले सरकारसँग छलफल गर्दैछ । वार्ताको समय र स्थान भने तय भएको छैन ।
दुई पक्षबीच छलफलबाट समय तय गरिने बताइएको छ । महासंघले संवादसँगै आन्दोलनलाई पनि निरन्तरता दिने जनाएको छ । महासंघका सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार संवाद र आन्दोलनलाई संगसंगै लैजाने भएको हो । आफुहरु वार्ता विरोधी नभएको तर भाकाको सहमतिका लागि मात्र बार्तामा नबस्ने उनले बताइन ।
महासंघले ऐन जारी गर्न तीन वटा विकल्प सरकारलाई दिएको छ । संसदको विशेष अधिवेशन, बर्खे अधिवेशन छिटो बोलाएर वा अध्यादेशबाट ऐन ल्याउन विकल्प दिएका छन् । आज हुने संवादमा पनि महासंघले यिनै आफ्ना कुरा राख्ने बताइएको छ ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आएका छन् ।















