अर्घाखाँचीलाई देवभूमिको रूपमा परिभाषित गर्नुपर्छ : प्रधानमन्त्री ओली

केन्द्रभाग मिडिया

अर्घाखाँची ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्दै यही भूमि विश्वव्यापी ज्ञानको सुरुवात गर्ने ठाउँ भएको बताएका छन । अर्घाखाँचीमा आयोजित ‘पाणिनी तपोभूमि सम्मेलन’को उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले पाणिनिको जन्मस्थान अर्घाखाँची भएकोमा कुनै शङ्का नरहेको प्रष्ट पारे ।

विश्वका व्याकरणका पिता पाणिनि यही भूमिमा जन्मिएको बताउदै प्रधानमन्त्री ओलीले यो भूमि पावन र पुण्य रहेकाले देवभूमिको रुपमा रही यहीबाटै ज्ञानको सुरुवात भएको बताए । अरु सबै व्याकरणहरुले पाणिनि सूत्रलाई आधार मानेको समेत प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले पाणिनिको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको तीन हजार नौ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्रहरू आजको आधुनिक प्रविधि, विशेषगरी कृत्रिम बौद्धिकता (एआई) विकासमा समेत प्रयोग भरहेको बताए ।

पाणिनिले मात्र नभई शिव, सिङ्ग ऋषि, पतञ्जली र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समूचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास गर्ने जिम्मा सरकारले लिने स्पष्ट पारे । नेपाल सरकारले यस क्षेत्रको विकासका लागि ध्यान दिएको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले धार्मिक र पर्यटकीय स्थलको रूपमा विकास गर्न जोड दिने बताए ।

पाणिनिको जन्म पाकिस्तानमा भएको भन्ने भ्रम मात्रै भएको उनको भनाइ थियो ।

  • २७ चैत्र २०८१, बुधबार १५:३४ प्रकाशित