तीनकुने घटनामा पूर्वराजा ज्ञानेन्द्रलाई लाञ्छना लगाउने काम सैह्य छैन कमल थापा

केन्द्रभाग मिडिया

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लाञ्छाना लगाउने कार्य गरेको बताएका छन् । बुधबार संयुक्त जनआन्दोलन समितिले काठमाडौंमा आयोजना गरेको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

सरकार र गणतन्त्रवादी दलहरू राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको मान्यतालाई बदनाम गर्ने प्रयास गरेको उनको आरोप छ ।उनले लोकतन्त्रको आवरणमा भ्रष्टाचार गरेर चार पुस्तालाई पुग्नेगरी कमाएको सम्पत्ति र भ्रष्टाचारबाट गरेको आम्दानीलाई लुकाउनका लागि गणतन्त्रवादी दलहरू लागि परेको आरोप लगाए ।

राजतन्त्र पक्षधरहरूले यो समयमा सचेत भएर अगाडि बढ्न नसके आफूहरूको विचार सधैंका लागि समाप्त हुने भन्दै आफूहरूको आन्दोलनका कार्यक्रममा सहभागी हुन उनको अपिल छ ।केही राजनीतिक दलहरूले व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको भन्दै उनले त्यो प्रयास सफल हुन नदिने बताए ।

सत्तामा आफ्नो वर्चस्व कायम गर्न र ब्रम्हलुटलाई सुरक्षित गर्न प्रमुख राजनीतिक दलहरू नै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्न लागेको उनको आरोप छ ।

  • २७ चैत्र २०८१, बुधबार १४:४८ प्रकाशित