काठमाडौं ।
काठमाडौं केन्द्रित आन्दोलन गरिहेका शिक्षकहरुले बुधवार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन । शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
आन्दोलनको एक साता हुँदापनि सरकारले आफुहरुको माग प्रति वेवास्था गरेको भन्दै बुधवार हात उठाएर दबाब दिन खोजेको आन्दोलनरत शिक्षक पूर्ण ब्लोनले बताए । मंगलबार दिउँसै बत्ती बालेर शिक्षकले सरकार खोजेका थिए । यसअघि शिक्षकहरुले यसअघि कालोपट्टी बाँधेर, कालो मास्क लगाएर, सिट्टी फुकेर, मौन भएर, सडकमै सुतेर पनि प्रदर्शन गरेका थिए ।
सुरक्षाका लागि बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । उनीहरुको प्रदर्शनका कारण बानेश्वर–बबरमहल खण्डमा सवारी आवागमन प्रभावित भएको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै महासंघको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा छन् । यसैक्रममा उनीहरुले चैत २० गतेदेखि काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।















