अछामका जयगढबजार आगलागी पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

केन्द्रभाग मिडिया

अत्तरिया ।
अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ । बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारि दिए । जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले मङ्गलबार बेलुकी जयगढ बजारमा भएको आगलागीबाट क्षति पुगेको परिवार तथा व्यवसायीलाई मानवीय सहायता स्वरुप तत्कालका लागि ५० लाख रुपियाँ बान्नीगढी जयगढ गाउँपालिकामार्फत् उपलब्ध गराउने निर्णय भएको बताए । सम्बन्धित पालिकाले स्पष्ट मापदण्ड तयार पारेर उक्त मानवीय सहायता रकम वितरण गर्ने गरी ५० लाख रुपियाँ उपलब्ध गराउने निर्णय भएको र यसका साथै प्रारम्भीक रिपोर्टको पूर्ण विवरण प्राप्त भएपछि थप सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री शाहले बताए ।

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खण्का र आन्तरिक मामिला मन्त्री हिरा शार्कीलाई राहात सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरको जानकारी दिएको छ ।

  • २७ चैत्र २०८१, बुधबार १३:४२ प्रकाशित