रत्नज्योति माविमा शुभकामना अदानप्रदान

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा ८ रत्नचोकमा रहेको रत्नज्योति माध्यमिक विद्यालयमा नयाँ वर्ष २०८२ को अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले नयाँवर्ष २०८२ लाई सकारात्मकताले भरिपूर्ण बनाउनुपर्ने बताए ।

हरेक कुराको सकारात्मक र नकारात्मक पक्ष हुने बताउँदै उनले पहिले बालबालिकाहरुलाई आशिर्वाद दिने समयमा डाक्टर बन्नू, ईन्जिनियर बन्नु भन्ने गरिएकोमा अब अभिभावक र शिक्षकहरुले यो बन्नुपर्छ, त्यो बन्नुपर्छ भन्नेभन्दा पनि उनीहरुको बास्तविक रुचि पहिचान गरेर सोही अनुसार व्यवहार गर्नुपर्नेमा जोड दिए । उनले देशबाट युवा पलायन बढिरहेको बताउँदै विद्यालयहरुले युवालाई देशमै रोक्ने खालको शिक्षा प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रमा बोल्दै शिक्षा शिक्षा विकास निर्देशनालयका निर्देशक ऋषिराज बास्तोलाले विद्यार्थीको क्षमता पहिचान गरेर सोही अनुरुप व्यवसायिक तथा पेशागत परामर्श आधारभूत तहमा नै गराउने दायित्व विद्यालयको रहेको बताए । हरेक शुक्रबार जीवनोपयोगी सिपसंग विद्यार्थीलाई परिचित गराउनु पर्नेमा उनको जोड थियो ।

वि.सं. २०५५ साल बैसाखबाट पठनपाठन सुरु भएको सो विद्यालयमा हाल कक्षा नर्सरीदेखि १२ सम्म पठनपाठन हुने गरेको छ । विद्यालयका संस्थापक निर्देशक हेमन्त अधिकारीले विद्यालयले आगामी शैक्षिक सत्रबाट प्रयोगात्मक शिक्षामा विशेष जोड दिने बताए । बालमैत्री शैक्षिक बातावारणमा विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउनेतर्फ समेत विद्यालयको ध्यान केन्द्रित हुने निर्देशक अधिकारीको भनाई छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टुबराज बास्तोलाको अध्यक्षतामा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा अभिभावकहरु पंकज पौडेल, सीता रेग्मी बास्तोला, दीपेन्द्र पौडेल, विक्रम रिजाल र विनोद गिरी, विद्यालयका प्राचार्य बिष्णु प्रसाद भट्टराई र विद्यालयका प्लस टु संयोजक भुवन सुवेदी लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

विद्यालयमा हाल नयाँ शैक्षिक सत्रको भर्ना समेत सुरु भएको छ । कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुसहित अभिभावक, स्थानीय शिक्षाप्रेमी लगायतको उपस्थिति रहेको थियो । रत्नज्योति माविले विद्यार्थीहरुको दैनिक पठनपाठनको अलावा अतिरिक्त क्रियाकलापहरुमा समेत सहभागी गराउँदै आएको छ भने विभिन्न संघसंस्थाहरुसँगको सहकार्यमा सामाजिक सेवाका कामहरु समेत गर्दै आएको छ । शुभकामना आदान प्रदान कार्यक्रममा विद्यार्थी र अभिभावकसहित करि ४०० जनाको सहभागिता थियो ।

  • २६ चैत्र २०८१, मंगलवार २०:५४ प्रकाशित