आन्दोलनमय काठमाडौं : राप्रपादेखि शिक्षक र लघुवित्त पीडित सडकमा

केन्द्रभाग मिडिया

काठमाडौं ।

यतिबेला देशको संघीय राजधानी काठमाडौं आन्दोलनमय बनिरहेको छ । राजा फर्काउने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (मंगलबार) काठमाडौंमा प्रदर्शन गर्दैछ ।

संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले काठमाडौंको बल्खुमा जुलुससहित सभा गर्न लागेको हो । उपत्यका बाहिरका जिल्लाहरूबाट समेत ठूलो संख्यामा मान्छे सभामा उपस्थित हुने दाबी राप्रपाले गरेको छ ।

शिक्षकहरु आफ्ना माग पूरा गराउन भन्दै काठमाडौंमा दिनहुँ प्रदर्शन गरिरहेका छन् । यसलाई आज पनि उनीहरुले निरन्तरता दिनेछन् । नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शन माइतीघर मण्डलामा भेला भई बानेश्वर र माइतीघर सडक खण्डको बिचमा हुनेछ । यसैगरी सहकारी र लघुवित्त पीडितले शान्तिवाटिकामा कार्यक्रम गर्दैछन् ।

सुरक्षा निकायको फोकसमा राप्रपाको प्रदर्शन

राप्रपाको सभा तथा जुलुसलाई लक्षित गर्दै सुरक्षा निकायहरूले निगरानी बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका टोलीहरू गरी तीन निकायका सुरक्षाकर्मीहरू खटिने छन् ।

राष्ट्रिय अनुसन्धान विभागका टोलीहरूले सूचना संकलनको काम गर्नेछन् भने बाँकी नेपाल प्रहरी र सशस्त्र प्रहरीले भने प्रदर्शनलाई शान्तिपूर्ण बनाउन भूमिका खेल्नेछन् । सोही अनुसार सुरक्षा रणनीति बनाएर परिचालन गरिने बताइएको छ ।

जिल्ला सुरक्षा समितिको सुरक्षा विश्लेषणपछि राप्रपाले माग गरेको भृकुटीमण्डपमा नभई बल्खु क्षेत्रमा प्रदर्शन तथा सभाका लागि ठाउँ दिइएको छ । बल्खुको सभाका लागि भने २ हजार प्रहरी परिचालन गरिने बताइएको छ ।

  • २६ चैत्र २०८१, मंगलवार ०८:१७ प्रकाशित