केपी ओली कप राष्ट्रिय टि२० क्रिकेटः सिइसी काठमाण्डौ सेमीफाइनलमा

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय खेलाडी सम्मिलित सिइसी काठमाण्डौ केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा जारी दोस्रो संस्करणको प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै काठमाडौं अन्तिम चारमा पुग्ने पहिलो टोली बनेको छ ।

तेस्रो दिनको पहिलो खेलमा सिइसी काठमाण्डौले पोखरा महानगरपालिका क्रिकेट क्लबलाई ९ विकेटले हरायो । पोखरालाई हराउँदै कुल ३ खेलमा अपराजित रहँदै ६ अंकका साथ समूह विजेता बन्यो ।
५४ रनको झिनो लक्ष्य पछ्याएको काठमाडौंले ४.२ ओभरमा १ विकेट गुमाउँदै ५७ रन बनायो । कप्तानी रित गौतमले आक्रमक पारी खेल्दै्र १५ बलमा ३६ रनको योगदान दिए । उनले आफ्नो पारीमा ३ छक्का र ४ चौका प्रहार गरे । उनी सुभाष बास्तोलाको बलमा अभिनवको हातबाट क्याच आउट भए । त्यस्तै दिपेनद्र रावतले ८ बलको सामना गर्दै १ चौका र २ छक्का साथ १९ रन बनाउँदा शिवम तिवारीले २ रन बनाए ।

त्यसअघि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस जितेर व्याटिङ थालेको पोखरा १७.२ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । पोखराले १० रन अतिरिक्त रनको रुपमा पायो । सुमह ‘ए’को अन्तिम चरणको खेलमा पोखराको पारीलाई ध्वस्त पार्ने क्रममा म्यान अफ दि म्याच समेत रहेका सिइसी काठमाण्डौका दिपेन्द्र रावतले र युनिश विक्रम सिंह ठकुरीले समान ३÷३ विकेट हात पारे ।

दिपेन्द्रले आफ्नो ४ ओभरको स्पेलमा ८ रन दिएर ३ विकेट लिए भने विक्रमले ३.२ ओभरमा ९ रन दिएर ३ विकेट लिए । पोखराका कविन सापकोटाले १२ रनको दोहोरो रन बनाउनु बाहेक अन्य खेलाडीहरु क्रिजमा टिक्न सकेनन् । पोखराका लागि आशिष न्यौपाने ९, सुमित श्रेष्ठ र अन्जन केसीले समान २÷२, प्रमोद बास्तोला, अभिनव शाह, मार्शल बरालले समान ३÷३ रन बनाए । समिर भुजेल र सुवास बास्तोला सुनय रनमा आउट भए । त्यस्तै काठमाण्डौका लागि सूर्य तामाङले ४ ओभरमा १० रन दिएर २ विकेट तथा मनोज यादव र अशोक बोहोराले समान १÷१ विकेट हात पारे ।

सोही समूहको दोस्रो खेलमा हेटौडा स्पोट्र्स एकेडेमीले स्याङ्जा क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ । समूह चरणको प्रतिठानको खेलको रुपमा रहेको उक्त खेलमा हेटौडाले बाजी मारेको हो । १७७ रनको विजयी लक्ष्य पछ्याएको हेटौडाले १८.४ ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनायो । हेटौडाको जितमा अकिलेश ठाकुरले ५२ रनको अविजित अर्धशतकीय पारी खेले ।

उनले २७ बलमा ६ चौका र ३ छक्का प्रहार गरे । राम नरेश गिरिले २० रनको अविजित पारी खेले । सुभ कंशाकरले ४२ रनको पारी खेल्दै क्याचआउट हुन पुगे । उनले २० बलमा ४ चौका, ४ छक्का प्रहार गरे । ओपनर गोकुल अधिकारी १७ रनमा आउट भए । युविन बुढाथोकीले ३० रन जोडे । उनले २८ बलमा ४ चौका प्रहार गरे । सुमन सुनार शुन्य र गौरभ खड्का ३ रनमा आउट भए ।

  • २५ चैत्र २०८१, सोमबार २०:३१ प्रकाशित