लेकसाइडमा खुल्यो ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’

१ अर्ब २५ करोड लगानी, स्वदेशी तथा बिदेशी पाहुनाको लागि विशेष छुट र आकर्षक अफरहरू

केन्द्रभाग मिडिया

पोखरा ।

पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा रहेको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल चिल्ली ग्रुपको करिब १ अर्ब २५ करोड रुपैयाँ (जग्गासहित) को लगानीमा निर्माण भएको हो ।

होटलमा नेपालको पर्यटकीय राजधानी पोखरा, यहाँको प्राकृतिक सांंस्कृतिक र ऐतिहासिकता एकैसाथ अनुभव गर्न सकिने होटलका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए । लेकसाइडको स्ट्रिट नं. १७ मा सन् २००८ देखि पर्यटन व्यवसायमा हात हालेको चिल्ली ग्रुपको लगानीमा स्थापना भएको यस होटलले ‘बुटिक’ अवधारणामा आधारित रहेर स्थानीय मौलिकता र अन्तर्राष्ट्रिय स्तरको सुविधा प्रदान गर्ने उद्देश्यसहित संचालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

टेम्पल बेल अर्थात मन्दिरको घण्टी–पवित्र अध्यात्म र सकारात्मक ऊर्जाको प्रतीक रहेको भन्दै उनले यसले आगन्तुक पाहुनालाई शारीरिक विश्राम मात्र होइन, आत्मिक सन्तुष्टि दिनका लागि पनि प्रतिबद्धता जनाएको बताए । नेपाली काष्ठकला, ढुंगा र हस्तकलाको कलात्मक समावेश, हरियालीयुक्त वातावरण र व्यक्तिगत अनुभव प्रदान गर्ने संरचनाले टेम्पल बेललाई पोखराका बुटिक होटलहरूबीच विशिष्ट बनाएको दाबी गरिएको छ ।

होटलमा अगाडि र पछाडि गरी दुईवटा इन्टरकनेक्टेड ब्लकहरू छन् । कुल ५५ सुसज्जित कोठा छन् । ४७ डिलक्स बुटिक, ५ सुपर डिलक्स, २ जूनियर स्वीट र १ प्रेसिडेन्सियल स्वीट रुम छन् । होटलमा रिसेप्सन, आकर्षक लबी, दुईवटा ज्याकुजीसहितको स्वीमिङ पूल, बुद्ध सदन नामक सम्मेलन हल, महिला-पुरुषका लागि स्टीम, साउना, थेरापी रुम सहितको अत्याधुनिक स्पा, यक एण्ड यति नामक स्वीमिङ पूलसंगैको बार, आंटी नामक आलाकार्ट रेस्टुरेन्ट, आपतकालीन द्वार, बेसमेन्ट पार्किङ र दुईवटा आधुनिक लिफ्टको सुविधा होटलमा उपलब्ध छन् ।

होटलमा स्वदेशी तथा विदेशी गरेर करिब ६० जना दक्ष कर्मचारीसहित ७४ जना कर्मचारी कार्यरत रहेको प्रबन्ध निर्देशक भिष्मराज पौडेलले जानकारी दिए । अन्य कर्मचारीलाई पनि अतिथि सत्कार, व्यवस्थापन, खाना पकाउने कला, र ग्राहक सेवा सम्बन्धी थप तालिमहरू प्रदान गरिएको उनको भनाई छ । होटल भूकम्प प्रतिरोधी संरचना र आधुनिक अग्नि नियन्त्रण प्रणाली सहित निर्माण गरिएको छ ।

हाल होटलको ‘सफ्ट ओपनिङ’ गरिसकेको जानकारी दिँदै नयाँ वर्ष २०८२ लाई लक्षित गर्दै स्वदेशी तथा बिदेशी पाहुनाको लागि विशेष छुट र आकर्षक अफरहरू दिइएको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले जानकारी दिए । जसमा स्वदेशी पाहुनालाइ सिंगल र डबल रुममा छूट सहित क्रमशः रु. ७,५०० र रु. ८,५०० मा उपलब्ध गराइएको छ र बिदेशी पाहुना लार्र्र्इ सिंगल र डबल रुममा छूट सहित क्रमशः रु. १२,००० र रु. १४,००० मा उपलब्ध गराइएको छ ।

साथै स्विट रुममा छुट सहित स्वदेशी पाहुनालाइ रु. ३५,००० र बिदेशी पाहुनालाइ रु. ४८,००० मा उपलब्ध गराइएको छ । तोकिएको छुटका अलावा प्याकेजमा फ्री एक्स्कुलुसिभ ब्रेकफास्ट, स्टीम, साउना र एयरपोर्ट पिक अप र ड्रप को सुबिधा समेत राखिएको जानकारी दिइएको छ । स्पा सर्भिसमा ३० पतिशतको छुटको समेत व्यवस्था गरिएको छ । ग्राहकको सुझावका आधारमा सेवा सुधार गर्दै वैशाख महिनाभित्र ग्रान्ड ओपनिङको योजना रहेको छ ।

  • २५ चैत्र २०८१, सोमबार २०:२२ प्रकाशित