संगीतमय बन्यो आलु महोत्सव

केन्द्रभाग मिडिया

पोखरा ।

१३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव जारी छ । महोत्सवको दोस्रो दिन सोमबार आज लोकदोहोरीे कलाकार राजु परियार, शिला आले, केशव देवकोटा, शिवहरी ढुङगाना, परशुराम अधिकारी, कमला सुनार, रञ्जना गायक लगायतको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिए ।

चर्चित लोक तथा दोहोरी गायक राजु परियार र शिला आलेको दोहोरी मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए । दोहोरीका अलवा राजुले प¥यो मलाई रुन मायालु, सुन पानीले छर्क मायालु, फूलमा भमरा, डाली पलायो, आधी खोला उर्लेर आयो, शिलाले गोर्खा कालिका, तिम्रो माया जीन्दगी भरीलाई लगायतका गीतहरु दर्शकसामु प्रस्तुत गरे ।

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लवको आयोजनामा यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव भइरहेको छ । महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन्।

त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा मंगलबार कलाकार खुमन अधिकारी, जीवन दाहाल, माया गुरुङ, नविन पौडेल, नविना सुवेदी, अमर धिताल, परशुराम अधिकारी, शान्ता बर्देवा, दिपक थापा लगायतका प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

 

  • २५ चैत्र २०८१, सोमबार २०:१३ प्रकाशित