शिक्षकहरुले गरे कालो मास्क लगाएर मौन प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । सोमबार उनीहरुले काठमाडौंको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् ।

काठमाडौं केन्द्रित सडक आन्दोलन गरेको नेपाल शिक्षक महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेका छन् । महासंघले यसअघि आफूहरूसँग भएको सहमतिका आधारमा छिटो भन्दा छिटो विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने जनाएको छ ।

आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौंमा केन्द्रित भएका छन् । उनीहरूले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने एकसुत्रीय माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।

आफूहरूको मागका विषयमा प्रधानमन्त्रीले सम्बोधन नगरेसम्म आन्दोलन नरोकिने महासंघको भनाइ छ । महासंघले घोषणा गरेको शैक्षिक हडताललाई विभिन्न शिक्षक संघले समेत समर्थन गरेको छ । शैक्षिक हडतालका कारण शैक्षिक गतिविधि प्रभावित भएको छ ।

शिक्षक महासंघमा कांग्रेस, एमाले, माओवादीलगायत विभिन्न राजनीतिक दल आबद्ध शिक्षक संगठन, निजी विद्यालय शिक्षक युनियन, विद्यार्थी–कर्मचारी संघका घटकहरू आबद्ध छन्  । महासंघले घोषणा गरेको शैक्षिक हडतालले देशभरका ३४ हजार सामुदायिक तथा निजी विद्यालयको शैक्षिक गतिविधि प्रभावित हुने भएको छ ।

हडतालका कारण ७० लाख बालबालिकाको शैक्षिक गतिविधिको तयारी बिथोलिनुका साथै एसईईमा सहभागी ५ लाख विद्यार्थीको उत्तरपुस्तिका परीक्षणमा समेत ढिलाइ हुने भएको छ । चैत महिना विद्यालयहरूमा कक्षा सञ्चालन नभए पनि विद्यार्थीको नतिजा प्रकाशनसहित नयाँ भर्ना र शैक्षिक सत्र सञ्चालन गर्ने समय हो ।

२०८० असोजमा पनि शिक्षकले काठमाडौंमा ३ दिन प्रदर्शन गरेका थिए । सरकारले ऐन जारी हुँदा माग पूरा गर्ने प्रतिबद्धतासहित सहमति गरेपछि शिक्षक विद्यालय फर्केका थिए । विधेयक पारित गर्न ढिलाइ भएको हुँदा माग र सहमतिहरू ऐनमा समावेश हुने सुनिश्चित नभएकाले आन्दोलन घोषणा गर्नुपरेको आन्दोलनमा सहभागी शिक्षकहरूको भनाइ छ ।

  • २५ चैत्र २०८१, सोमबार १५:१३ प्रकाशित