काठमाडौं ।
रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराइँदै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका उनलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला प्रहरी कार्यालय रूपन्देहीको हिरासतमा राखेर आज अदालतमा उपस्थित गराउन लागिएको हो ।
उक्त मुद्दामा उच्च अदालत तुलसीपुरको थुनामा पठाउने आदेशसँगै पक्राउ परेका लामिछानेलाई शनिबार बिहान रूपन्देही लगिएको थियो । लामिछानेलाई रुपन्देही अदालतमा उपस्थित गराएपछि कानूनी प्रक्रिया पूरा गरी आजै थुनामा पठाइने छ ।
सुप्रिम ठगी मुद्दामा यसअघि १३ माघमा लामिछाने १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । त्यसपछि लामिछानेले उक्त आदेश बदर गरी साधारण तारेखमा छुट्न आदेशको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
तर, उच्च अदालतले जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश उल्टाइदिएपछि उनी फेरि पक्राउ परेका हुन् ।