वरिष्ठ पत्रकार भैरव रिसालको निधन

रासस

काठमाडौं ।

वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए ।

उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा गरेका थिए।

पत्रकार रिसालले मानव अधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न पुरस्कार प्राप्त गरेका छन् । उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन गरेका थिए ।

रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार पनि भएका थिए । उनले राष्ट्रिय समाचार समिति (रासस) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए ।

लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित उनले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए। जनगणनाका क्रममा हाल भारतीय नियन्त्रणमा रहेको नेपाली भूभाग लिम्पियाधुरा क्षेत्रको समेत गणना गरेका थिए ।

रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन्। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

  • २५ चैत्र २०८१, सोमबार ०६:३२ प्रकाशित