पोखरा ।
पोखराको हेमजामा १३ औं संस्करणको आलु महोत्सव सुरु भएको छ । स्थानिय विष्णुपादुका क्लबको आयोजनामा हेमजामा सुरु भएको महोत्सवको पोखरा महानगरका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै नगर प्रमुख आचार्यले महानगर किसानको पक्षमा रहेको स्पष्ट पार्दै कृषि उपजको नाममा महोत्सव गर्नु महत्वपूर्ण पक्ष रहेको बताए ।
आचार्यले आलु महोत्सवलाई महानगरले अपनत्व लिइरहेको उल्लेख गर्दै सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता समेत ब्यक्त गरे । त्यसैगरी महोत्सव आयोजक विष्णुपादुका क्लवको निर्माणधिन बहुउद्देश्यीय भवनलाई पूर्णता दिन महानगर तयार रहेको समेत बताए ।

पोखरा महानगरपालिकाका प्रवक्ता समेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिमिल्सीनाले विष्णुपादुका क्लव हेमजाको पहिचान स्थापित क्लव भएको वताउदै क्लवले आलु महोत्सव मार्फत हेमजा र समग्र पोखरा क्षेत्रलाई नै ब्राण्डिङ गर्न भूमिका खेलेको बताए । महोत्सवले कृषि पेशामा लाग्न कृषकहरुलाई हौसला थप्ने उनको भनाइ थियो । क्लव अध्यक्ष वसन्तकुमार श्रेष्ठले सबैको साथ सहयोगले आलु महोत्सवले निरन्तरता पाइरहेको उल्लेख गरे ।
उद्घाटनकै अवसरमा हलगोरु पाल्ने कृषक विजय रानामगर, हरीकुमार परियार र गंगाबहादुर कार्कीलाई नगद रु. १० हजारसहित सम्मान गरियो । त्यस्तै हेमजामा जन्मिएर नेपाली भाषा साहित्यको क्षेत्रमा अतुलनीय योगदान पु¥याउनुभएको भन्दै भाषाविद् मुकुन्दशरण उपाध्याय पनि सम्मानित भए । त्यस्तै विष्णुपादुका क्लवले हालै निर्माण सम्पन्न गरिएको सुविद्यासम्पन्न शौचालयको पनि समेत गरिएको थियो ।
महोत्सव सुरु हुनुपुर्व बाजागाँजा, कृषि झाँकी सहित विष्णुपादुका माइस्थानबाट शोभायात्रा सुरु भएकोमा उक्त शोभायात्रा मिलनचोक, नहरचोक, साँझाचोक, सोतीपसल हुँदै महोत्सव स्थल विष्णुपादुका खेल मैदान पुगेको थियो । वि.सं. २०७८ को जनगणना अनुसार हेमजामा कुल ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस वसोबास गर्दछन् ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आएका छन । त्यहाँ प्रति रोपनी आलुको औसत उत्पादन लागत रु।१८ हजार ५ सय ५७ रहेकोमा औषद उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्याङकमा उल्लेख छ । महोत्सवमा प्रतिकेजी ४२ रुपैयाँमा आलुको कारोवार भइरहेको छ । आजदेखि सुरु महोत्सव यहि वैशाख ३ गतेसम्म संचालन हुनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदान रहेका छन । त्यस्तै कृषक तथा कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारहरुका प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, वीउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी रहेका छन ।