गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौं : अध्यक्ष नेपाल

केन्द्रभाग मिडिया

फाइल तस्बिर

 

काठमाडौं ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरेको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले माओवादी जनयुद्धबाट तीन नेताले बसेर सहमति गरिसकेपछि मात्रै मिसिएको दाबी गरे।

तत्कालीन नेकपा एमालेमा रहँदा आफ्नो पार्टीले साउन महिनामा नै गणतन्त्र ल्याउने निर्णय गरेको दाबी नेपालको छ । कोइराला र आफूले नै सबै सहमति गरेको र तत्कालीन राजा ज्ञानेन्द्रले सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको उनले उल्लेख गरे ।

अध्यक्ष नेपालले पछिल्ला घटनाक्रमप्रति लक्षित गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको बताए । ‘अहिले राजा फर्काउने कुरा छैन, पूर्वराजाको इच्छा पनि होइन भनेपछि मन शान्त भएको छ । यदि त्यसो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु,’ नेपालले भने, ‘राजनीति गर्नु छ भने पार्टी खोल्नूस् । जनताको बीचमा जानूस् ।

बहुमत ल्याउनूस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुसीकै कुरो हो । हामीले त केपी ओलीलाई समेत राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने, अनुहार नै मन नपराउने मान्छेलाई त राम्रो गरिदिनूस् भनिरहेका छौँ । हामीले कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ ।’

  • २४ चैत्र २०८१, आईतवार १५:३२ प्रकाशित