अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन

केन्द्रभाग मिडिया

काठमाडौं ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज (डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी) प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन भएको छ । शनिबार अमेरिकाको ५० वटै राज्यमा ट्रम्प र मस्कविरूद्ध त्यहाँका नागरिकहरू सडकमा निस्किएर प्रदर्शन गरेका हुन् ।

सिएनएनका अनुसार शनिबार अमेरिकाका १ हजार ४ सय स्थानमा ट्रम्प र मस्कविरूद्ध प्रदर्शन भएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि जिम्मेवारी सम्हालेको तीन महिना नहुँदै अमेरिकामा उनीविरूद्ध नागरिकहरू सडकमा निस्किएका हुन् ।

यद्यपि उनको कार्यशैली र निर्णयका विषयमा सुरूवातदेखि नै चर्को आलोचना भए पनि प्रदर्शन नै भएको पहिलो पटक हो । ट्रम्पले लिएको आप्रवासी नीति, संघीय सहायता कटौती, छिमेकी मुलुक र अन्य राष्ट्रहरूसँगको व्यवहारलाई लिएर अमेरिकाभित्रै ट्रम्प विरोधी आवाज बढ्न थालेको छ ।

डोज सिर्जना गरी सिनेटले अनुमोदन नगरेका मस्कलाई त्यसको प्रमुख बनाइएको र सरकारको नीति निर्माणमा खुलमखुल्ला खेल्न दिएको भन्दै चर्को आलोचना हुँदै आएको छ । डोजले सरकारी खर्च कटौतीबारे ट्रम्पलाई सल्लाह दिन्छ । मस्ककै सल्लाहमा संघीय कर्मचारी कटौती गर्ने र युएसएआइडीका कार्यक्रम रद्द गरिएको थियो ।

शनिबार प्रदर्शन गरेकाहरुले ‘ह्यान्ड्स अफ’ लेखिएको प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मूलभुत रूपमा तीन माग राखेका छन्। अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी र अन्य समुदायमाथिको आक्रमण रोक्नुपर्ने उनीहरूको माग छ ।

पछिल्लोपटक ट्रम्पले लगाएको पारस्परिक भन्सार (रेसिप्रोकल) का कारण पनि उनको आलोचना भएको छ । पारस्परिक भन्सारले महँगी बढ्ने त्रास अमेरिकीहरूमा छ । ट्रम्पले केही समय गाह्रो भए पनि अमेरिकाले जित्ने दाबी गर्दै आएका छन् ।

शनिबार अमेरिका बाहिर लन्डन र पेरिसमा पनि ट्रम्प विरूद्ध प्रदर्शन भएको बिबिसीले जनाएको छ । शनिबार ट्रम्प विरूद्ध अमेरिकामा ६ लाख मानिसहरू सडकमा निस्किएका थिए ।

  • २४ चैत्र २०८१, आईतवार १०:५९ प्रकाशित