काठमाडौं ।
राप्रपाले चैत २६ गते गर्न लागेको प्रदर्शनमा ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को पनि सहभागिता रहने भएको छ । समितिका कार्यबाहक संयोजक जगमान गुरुङले आइतबार जारी गरेको विज्ञप्तिमा समिति राष्ट्रिय झन्डासहित राप्रपाको कार्यक्रममा सहभागी हुने उल्लेख छ ।
गुरुङले शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउनका लागि सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान समेत गरेका छन् । अवस्था बदल्न व्यवस्था बदलौँ’ भन्ने मूल नाराका साथ वर्तमान व्यवस्था विरोधी दल राप्रपाले नवीन समझदारीका लागि भृकुटीमण्डपमा प्रदर्शन तथा वृहत् सभा गर्न लागेको छ ।
समितिले राजावादी समूह जोकोहीले गर्ने आन्दोलनमा साथ दिने बताउँदै आएको छ भने राप्रपाले पनि सोही नीति लिएको छ ।