काबुल ।
अफगानिस्तानबाट पाँच लाख अमेरिकी हतियार हराइरहेका छन । बीबीसीका अनुसार ती या त बेचिएका छन् या त तस्करी गरिएका छन । यीमध्ये केही हतियारहरू अल–कायदासँग सम्बन्धित अतिवादी संगठनहरूको हातमा पनि परेको संयुक्त राष्ट्रसंघको विश्वास छ । नाम न छाप्ने सर्तमा बोल्दै एक पूर्वअफगान अधिकारीले बताएअनुसार सन् २०२१ मा तालिबानले अफगानिस्तानमाथि पुनः नियन्त्रण लिएपछि उनीहरूले लगभग १० लाख सैन्य हतियार र उपकरणहरूको भण्डार फेला पारेका थिए ।
यी मध्ये धेरैजसो अमेरिकाको आर्थिक सहयोगमा खरिद गरिएका थिए। यसमा अफगानिस्तानबाट आएका पुराना हतियारहरू समावेश थिए, जसमा अमेरिकामा निर्मित एम४ र एम१६ राइफलहरू पनि समावेश थिए ।
सन् २०२१ मा तालिबान अगाडि बढ्दै जाँदा, अफगान सैनिकहरूले या त आत्मसमर्पण गरे या आफ्ना हतियार र सवारी साधनहरू छाडेर भागे । त्यस्तै, अमेरिकी सेनाले पनि आफ्ना केही सैन्य उपकरणहरू त्यहाँ छोडेको थियो ।
स्रोतहरूले बताएअनुसार गत वर्ष दोहामा भएको संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिबन्ध समितिको बैठकमा तालिबानले आधा सैन्य उपकरण र हतियार हराएको स्वीकार गरेको थियोे । यस समितिका एक व्यक्तिले धेरै स्रोतबाट पुष्टि गरेपछि करिब पाँच लाख हतियार हराएको बताए ।
संयुक्त राष्ट्र संघले फेब्रुअरीमा जारी गरेको एक प्रतिवेदनमा अल–कायदासँग सम्बन्धित संस्थाहरूले कालो बजारबाट यी हतियारहरू किनिरहेको बताएको थियो । यसमा तहरीक–ए–तालिबान पाकिस्तान, इस्लामिक मुभमेन्ट अफ उज्बेकिस्तान, पूर्वी तुर्किस्तान इस्लामिक मुभमेन्ट र यमनको अन्सारुल्लाह मुभमेन्ट तालिबान समावेश छन ।
“हामी हतियारहरूलाई अत्यन्त सावधानीपूर्वक भण्डारण र सुरक्षा गर्छौं,“ तालिबान सरकारका उपप्रवक्ता हमिदुल्लाह फित्रतले भने, ‘संयुक्त राष्ट्रसंघको विश्वास छ हतियारको तस्करी वा बेपत्ता पारिएको कुरा गलत हो। सबै हलुका र भारी हतियारहरू पूर्ण रूपमा सुरक्षित राखिएको छ ।’ सन् २०२३ मा संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनले तालिबानले जफत गरेका २० प्रतिशत अमेरिकी हतियार स्थानीय कमाण्डरहरूलाई दिएको बताएको थियो। यी कमाण्डरहरू आ–आफ्नो क्षेत्रमा स्वतन्त्र छन । यही कारणले गर्दा हतियारको कालोबजारी हुन्छ ।
संयुक्त राष्ट्रसंघले भन्यो, ‘स्थानीय कमाण्डर र लडाकुहरूमाझ शक्ति सुदृढ गर्न ठूलो मात्रामा हतियार उपहार दिइँदैछ । यो हतियारहरूको प्रमुख स्रोत बनेको छ ।’ कान्दाहारका एक पूर्व पत्रकारले बीबीसीलाई जानकारी दिएअनुसार तालिबानले सत्ता कब्जा गरेको एक वर्षसम्म त्यहाँ खुला हतियार बजार थियो, तर अब यो व्हाट्सएप मार्फत भइरहेको छ । स्थानीय कमाण्डरहरू र धनी व्यक्तिहरू मिलेर नयाँ र प्रयोग गरिएका अमेरिकी हतियार र सैन्य उपकरणहरूको व्यापार गरिरहेका छन । यीमध्ये धेरैजसो हतियार अफगान सेनाले छोडेका हुन ।