भैरहवा पुर्‍याइयो रविलाई, राखियो रुपन्देही प्रहरीको हिरासतमा

केन्द्रभाग मिडिया

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुर्‍याइएको छ । शुक्रबार राति निवासबाटै पक्राउ परेका उनलाई प्रहरीले यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेको हो ।

उनलाई बिहान साढे ७ बजे नै विमानस्थलमा पुर्‍याइएको भए पनि विमान डिले भएपछि ढिलो भैरहवा लगिएको हो । संगठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका रास्वपा सभापति रवि लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो । त्यसपछि राति प्रहरीले बूढानीलकण्ठस्थित निवासबाटै उनलाई नियन्त्रणमा लिएको थियो ।

बुटवलको सुप्रिम सहकारी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटी माग गरेको थियो । उक्त आदेश उल्ट्याउँदै उच्चले थुनामा पठाउने आदेश गरेको हो ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले पूर्वगृहमन्त्री लामिछानेलाई आज बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय ल्याइपुर्‍याइएको जानकारी दिए ।

डीएसपी कार्कीका अनुसार आज शनिबार र भोलि आइतबार पनि सार्वजनिक बिदा परेकाले अब रविलाई सोमबार मात्र अदालत उपस्थित गराइनेछ ।

  • २३ चैत्र २०८१, शनिबार ११:४४ प्रकाशित