शुक्रबार राति पक्राउ परेका रविलाई आज रुपन्देही लगिने

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । शुक्रबार तुल्सीपुर उच्च अदालतको बुटवल इजलासले सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरीले शुक्रबार साँझ ९ बजे उनको काठमाडौँको बूढानीलकण्ठ स्थित निवासबाट पक्राउ गरेको हो । अब उनलाई आज जहाज मार्फत रुपन्देही लगिने प्रहरीले जनाएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका अभियुक्त लामिछाने यसअघि जिल्ला अदालत रुपन्देहीको आदेशले १ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो ।

हजारौं सहकारी पीडितको न्यायको विषय जोडिएकाले उनी मुछिएको अपराध धरौट वा जमानतमा छाड्न नमिल्ने प्रकृतिको रहेको उच्च अदालतको आदेशमा भनिएको छ । ‘सहकारी संस्थाबाट गोर्खा मिडिया प्रालिमा रकम आएको घटनाको प्रकृति जति संवदेनशील छ, जिम्मेवार सञ्चालकको हैसियतमा रहेका प्रतिवादी (रवि) को भूमिका र बयान उति नै शंकास्पद र अनुचितसमेत छ’ शुक्रबार जारी आदेशमा भनिएको छ, ‘थुना वा धरौटमध्ये कुनै एक विकल्पलाई अदालतले आफ्नो रोजाइमा प्रयोग गर्न सक्दैन । वास्तवमा थुना र धरौट निरपेक्ष रूपमा एकअर्काका विकल्प पनि होइनन् । थुनामा राख्नुपर्ने अवस्थाको अभियुक्त वा प्रतिवादीलाई अदालतले धरौट माग गर्न मिल्दैन र हुँदैन पनि ।’

  • २३ चैत्र २०८१, शनिबार ०७:०२ प्रकाशित