काठमाडौं ।
आगामी चैत्र २४ देखि ३० गते सम्म राष्ट्रिय जनमोर्चाले संघीयताको खारेजीको माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै राष्ट्रिय जनमोर्चाले संघीयता खारेजीका लागि साताव्यापी काठमाडौंकेन्द्रित आन्दोलन घोषणा गरेको हो ।
आन्दोलन कार्यक्रमअन्तर्गत २४ चैतमा शान्तिबाटिकामा सभा आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । २५ चैतमा चावहिल चोकमा, २६ गते माइतीघरमण्डलामा, २७ गते गोंगबुचोकमा, २९ गते न्युरोडस्थित भूगोलपार्कमा, २९ गते भृकुटीमण्डपमा र ३० गते पुनः शान्तिबाटिकामा सभा आयोजना गरिने राष्ट्रिय जनमोर्चाले जनाएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले देशले अब संघीयता धान्न नसक्ने भन्दै संघीयता बोकिरहे मुलुकको अस्तित्व नै संकटमा पर्ने जिकिर गरे । उनले संघीयता अन्तर्गतको प्रदेश संरचना खारेज गरेर प्रशासनिक इकाइ मात्रै राख्ने र प्रजातान्त्रिक विकेन्द्रीकरण गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने बताए ।
प्रादेशिक संरचनाको कारण देशले अनावश्यक आर्थिक बोझ बोक्नु परेको बताएका अध्यक्ष केसीले संघीयता खारेज गरेर शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सरकारसँग माग गरे ।