काठमाडौं ।
तीनकुने घटनाको निष्पक्ष छानबिनको माग गर्दैै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ । तीनकुने घटनाको निष्पक्ष छानबिन, पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणासहित हिरासतमा रहेका सबै प्रदर्शनकारीलाई रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो ।
चैत १५ गते तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शन हिंसात्मक हुँदा २ जनाको मृत्यु हुनुका साथै तोडफोड र आगजनीको घटना भएको थियो । सोही घटनापछि प्रहरीले राप्रपाका नेताहरू मिश्र र राणा समेतलाई पक्राउ गरेर मुद्दा अघि बढाएको छ ।
सडकमा आएका राप्रपाका नेता कार्यकर्ताले सरकारको विरोधमा नाराबाजी गर्दै झुटा मुद्दा खारेज हुनुपर्ने, राज्य आतङ्क बन्द गरिनुपर्ने, निष्पक्ष न्यायिक आयोग गठन गर्नुपर्ने, नागरिक स्वतन्त्रता काम गर्नुपर्नेलगायतका माग गरे । राजधानीको सुन्धारादेखि शुरु भएको प्रदर्शन शान्तिबाटिका पुगेर कोणसभामा परिणत भएको थियो ।